विश्वकर्माको सामान्य परिचय
आचार्य पुरु। विश्वं कृत्स्नं, कर्म व्यापारः, यस्य सः विश्वकर्मा अर्थात् संसार नै जसको निर्माण स्थल छ त्यो नै विश्वकर्मा हो । संस्कृतको व्युत्पत्तिलाई केन्द्रमा राखेर व्याख्या गर्दा संसारलाई सुन्दर बनाउन सक्ने विशेष व्यक्ति विश्वकर्मा हो । प्रकृत अवस्थामा भएको संसारका हरेक विषयलाई एक आपसमा मिलाएर मानवोपयोगी बनाउने कार्यमा जसले निरन्तर योगदान दिन सक्छ त्यो व्यक्तिलाई विश्वकर्मा भन्नुपर्छ ।विश्वकर्माको उत्पत्ति
विश्वकर्माको उत्पत्तिका विषयमा शास्त्रहरू एकमत भएको पाइँदैन । वेदमा प्रजापति विश्वकर्मा विसुचित अर्थात् स्वयम् ब्रह्मालाई नै विश्वकर्माको रूपमा वर्णन गरिएको छ । शास्त्रहरूमा विश्वकर्मा पद हो भनेर पनि चर्चा गरिएको छ तर माहाभारत खिल भाग लगाएत अन्य पुराणहरूमा भने प्रभात पुत्र विश्वकर्मालाई नै आदि विश्वकर्मा स्विकार गरिएको छ ।
बृहस्पते भगिनी भुवना ब्रह्मवादिनी ।
प्रभासस्य तस्य भार्या बसूनामष्टमस्य च ।
विश्वकर्मा सुतस्तस्यशिल्पकर्ता प्रजापतिः ।। (स्कन्दपुराण)
अर्थात्, बृहस्पतिकी बहिनी भुवना ब्रह्मविद् थिइन् । उनी आठौँ वसु महर्षि प्रभासकी पत्नी बनिन् । उनीद्वारा सम्पूर्ण शिल्पविद्याका विज्ञ महर्षि विश्वकर्माको जन्म भयो । यसरी पुराणलाई आधार मान्दा आदिविश्वकर्माको जन्म वसु र प्रभासको गर्भबाट भएको निचोड निकाल्न सकिन्छ ।
विश्वकर्मा कसरी देवाता ?
वेद पुराणलाई आधार मान्दा विश्वकर्मा निर्माण वा सृजनाका स्रोत हुन । यसलाई अर्को भाषामा भन्दा विश्वकर्मा निर्माण र सृजनका देवता हुन् । उनले बनाएको स्थान नै समग्र देवताहरूको आश्रयस्थल थियो । स्थापत्य वेद अर्थात् आजको समयमा इन्जिनियङ् भनेर बुझिन्छ यसका आदि आचार्य विश्वकर्मा थिए । उनले यसलाई अध्ययन मात्र गरेका थिएनन् । पूर्ण रूपले व्ययवहारमा प्रयोग पनि गर्थे । यसरी वेदको निश्चित भागको विज्ञका रूपमा विश्वकर्माको वेग्लै उचाइ थियो । विश्वकर्माले आफ्ना सन्तानका रूपमा ऋद्धि सिद्धिलाई प्राप्त गरेका थिए । भगवान् शिव र माता पार्वतीका प्रिय पुत्र भगवान् गणेशसँग ऋद्धि र सिद्धिको विवाह भएको थियो । चराचर जगत्–लाई सम्पन्न गराउन सक्ने ऋद्धि र सिध्दिका पिता भएको हुनाले पनि विश्वकर्मा आफैँमा देवता हुनुहुन्छ ।
विश्वकर्माले के काम गरे ?
विश्वकर्माले चारै युगमा आफ्नो कलाकुशलताको प्रभावले धेरैभन्दा धेरै भवनहरू र सहरहरूको निर्माण गरेको पाइन्छ । यसरी शास्त्रको गहिराइमा गएर उनले बनाएको सबैभन्दा पहिलो भवान या सहर कुन हो भनेर खोज्ने हो भने उनको पहिलो निर्माण स्वर्ग भएको प्रमाण प्राप्त गर्न सकिन्छ । स्वर्गको निर्माण सत्य युगमा भएको थियो त्यस्तै विश्वकर्माले त्रेता युगमा लंकाको निर्माण र पुनर्निर्माण गरेको प्रसङ्ग पुराणहरूमा प्रशस्तै भेटिन्छ । द्वापर युगमा भगवान् श्रीकृष्णले सङ्कल्प गरेको द्वारका सहरको निर्माण कार्य सकुशल पूर्ण गर्ने काम विश्वकर्माले नै गरेका थिए । कलि युगको सुरुवात हुनुभन्दा लगभग ५० वर्ष पहिले हस्तिनापुरको निर्माण र इन्द्रप्रस्थ हालको दिल्ली सहरको निर्माण पनि विश्वकर्माबाट नै भएको थियो ।
जगन्नाथ पुरीस्थित जगन्नाथ मन्दिरमा रहेका कृष्ण, सुभद्रा र बलरामको विशाल मूर्तिको निर्माण पनि विश्वकर्माले नै गरेको कुरा पुराणमा पाइन्छ । भगवान् रामले रावणसँग युद्धगर्ने अवस्थामा पुलको निर्माण गराउने वानरराज नल विश्वकर्माकै अंश रहेका थिए । उनको उपस्थितिले नै समुद्रमा पुल निर्माण भएको थियो । यसरी निर्माण कार्यका सिद्धहस्त देवताका रूपमा विश्वकर्मालाई लिन सकिन्छ । विश्वकर्माले निर्माण गरेको घरमा बस्दा सौन्दर्य र आयु दुवैको हिसाबले अत्यन्तै उत्कृष्ट लाभ लिन सकिन्थ्यो । वास्तुशास्त्रका पहिला विज्ञ नै विश्वकर्मा हुनाले आजको समयमा पनि वास्तुशास्त्रको उचित परामर्श लिएर बनाएको घरमा बस्नाले मानिसको जीवनमा वातावरणीय नकारात्मक प्रभाव कम पर्ने कुरा प्रत्यक्ष अनुभव गर्न सकिन्छ ।
विश्वकर्माको पूजा किन फरकफरक मितिमा ?
माघे शुक्ले त्रयोदश्यां दिवापुष्पे पुनर्वसौ।
अष्टा र्विशति में जातो विशवकर्मा भवनि च॥
शास्त्रले माघ शुक्ल त्रयोदशीलाई विश्वकर्मा जयन्ती भन्ने गरेको छ । त्यसैले अन्य दिनलाई भगवान् विश्वकर्माको पूजा र पर्वका रूपमा मनाइन्छ। त्यसैगरी भगवान् विश्वकर्माको जन्मजयन्तीलाई लिएर पनि शास्त्रहरूको एकमत नरहेको हुँदा विद्वान्हरू बिच पनि मतभेद छ ।
भगवान् विश्वकर्माको पूजा गर्ने पर्व वर्षमा धेरै पटक मनाइन्छ तर यो विषयमा धेरै मतभेदको आवश्यकता भने छैन । प्रभासपुत्र विश्वकर्मा, भुवनपुत्र विश्वकर्मा र त्वष्टापुत्र विश्वकर्मा जस्ता धेरै विश्वकर्माहरूको चर्चा शास्त्रमा भएको र विश्वकर्मा उपाधि भएको हुँदा यसमा यो नै सत्य, यो मात्र हुनपर्छ भनेर ठोकुवा उपयुक्त विषय होइनन् ।
यो अनुसन्धानको विषय हो । अनुसन्धानबाट केही फरक निचोड निक्लन सक्छन् तिनलाई स्वीकार्न सक्नुपर्छ । हालसम्मलाई फरकफरक विश्वकर्माको फरकफरक समयमा पूजा हुनु सामान्य मान्दा उपयुक्त हुन्छ ।
असोजमा किन विश्वकर्माको पूजा गर्ने ?
रावणले माता सीताको हरण गरेपछि माता सीताको अन्वेषणमा गएका हनुमानले लङ्कालाई जलाएर विध्वंश पारेका थिए । रावणले पछि लङ्काको पुनः निर्माणका लागि विश्वाकर्मलाई कन्या राशीमा सूर्यको प्रवेशसँगै प्रसन्न गराएको हुनाले यस दिनलाई विश्वकर्मा पूजाका रूपमा मानिएको केही पुराणाचार्यहरूको मत छ भने केही आचार्यहरू समुद्रमा पुल निर्माणमा रामले विश्वकर्मालाई कन्याराशीमा सूर्यको प्रवेश र शरद् ऋतुको सुरुवातसँगै अर्चना गरेको हुनाले असोजमा नै निर्माण र प्रविधिका भगवान् विश्वकर्माको पूजा गरिनु उपयुक्त रहेको तर्क गर्छन् ।
व्यवहारिक हिसाबले पनि वर्षा ऋतुको समाप्तिसँगै वर्षा केही कम पर्ने हुँदा निर्माणसँग सम्बन्धित कामहरू द्रुतरूपमा अगाडि बड्ने हुँदा निर्माणका प्रमुख देवता विश्वकर्मालाई असोजमा पूजा गरिनु उपयुक्त मान्न सकिन्छ । यसरी शास्त्रीय र व्यवहारिक पक्षबाट महत्त्वपूर्ण रहेको विश्वकर्मा पूजा जनकल्याणकै लागि गरिने हो । सृष्टिकर्ता, शिल्पका मालिक, प्रविधि र विज्ञानका पिता भगवान विश्वकर्माको पूजा हरेक व्यक्तिले आफ्नो व्यवसायिक उन्नतिका माध्यमबाट राष्ट्रको दीर्घकालीन उन्नतिमा सहयोग गर्नका लागि भए पनि गर्नुपर्छ ।
कसरी गर्ने विश्वकर्माको पूजा ?
भगवान् विश्वकर्माको प्रतिमा माटोबाट निर्माण गरी यसलाई भव्य मण्डलाकार यज्ञको बिचमा उच्च आसनमाथि राख्नु पर्छ । यसरी राखेको मूर्ती राखेको स्थानमा विशेषरूपले शुद्ध भएर मात्र प्रवेश गर्नु पर्दछ । भगवान् विश्वकर्माको मूर्तीलाई पञ्चोपचार वा षोढशोपचारले पूजागर्नु पर्छ भनेे आफ्ना वरिपरी भएका पूजा गर्न सम्भव हुने सबै यन्त्र तथा औजारहरूलाई पनि जल, अक्षता, फलफूल, मिठाइ आदि चढाएर विशेष तरिकाले पूजा गर्नुपर्छ । पूजा गरेको केही समय औजारहरूलाई सञ्चालनमा ल्याउनु हुँदैन ।