loading

के हो पञ्चाङ्ग?

  • Home
  • Blog
  • के हो पञ्चाङ्ग?

के हो पञ्चाङ्ग?

पञ्चानां अङ्गानां समूह एव पञ्चाङ्ग’ अर्थात् पाँच अङ्गको समूहलाई पञ्चाङ्ग भनिन्छ । विभिन्न शास्त्रहरूमा विभिन्न विद्वान्हरूले आ—आफ्नो सिद्धान्तलाई पञ्चाङ्ग वा पाँच अङ्गको समूहमा विभाजन गरिएको पाइन्छ तर ज्योतिषीय सिद्धान्तमा पञ्चाङ्ग भन्नाले तिथि, बार, नक्षत्र, योग, करण भन्ने बुझिन्छ । ज्योतिषीय ज्ञान प्राप्त गर्नका लागि पञ्चाङ्गको जानकारी अत्यावश्यक पर्दछ । अतएव उपर्युक्त पाँच अङ्ग वा पञ्चाङ्गलाई निम्नानुसार वर्णन गरिन्छ : १. तिथि : चन्द्रमाको एक कलालाई नै तिथि भनिन्छ ।

चन्द्रमा र सूर्यको अन्तरबाट तिथिको मान निकालिन्छ । प्रत्येक दिन चन्द्रमा र सूर्य १२ अंशको अन्तरमा हिँड्दछन्, त्यही अन्तरमान नै तिथिको मध्यमान हो । अमावस्या (औँसी) पछिको प्रतिपदादेखि पूर्णिमासम्मका तिथिलाई शुक्ल पक्ष र पूर्णिमा पछिको प्रतिपदादेखि अमावस्यासम्मको तिथिलाई कृष्ण पक्षका नामले पुकारिन्छ । ती तिथिहरूलाई ज्योतिषशास्त्रले शुक्ल पक्षको प्रतिपदादेखि गणना गर्न प्रारम्भ गरिन्छ । तिथिका स्वामी : तिथीशा वन्हिको गौरी गणेशोऽहिर्गुहो रवि: ।।

शिवो दुर्गान्तको विश्वे हरि: काम: शिव:शशी। प्रतिपदाको अग्नि, द्वितीयाको ब्रह्मा, तृतीयाको गौरी, चतुर्थीको गणेश, पञ्चमीको शेषनाग, षष्ठीको कार्तिकेय, सप्तमीको सूर्य, अष्टमीको शिव, नवमीको दुर्गा, दशमीको काल, एकादशीको विश्वदेव, द्वादशीको विष्णु, त्रयोदशीको कामदेव, चतुर्दशीको शिव, पूर्णिमाको चन्द्रमा तथा अमावस्याको पितृ । तिथिको शुभाशुभत्वको विचारका लागि तिथिका स्वामीको विचार गरिन्छ ।

तिथिका संज्ञा नन्दा च भद्रा च जया छ रिक्ता पूर्णेतीतिथ्योऽ शुभमध्यशस्ता:।। सितेऽसिते शस्तसमाधमा: स्यु:सितज्ञभौमार्किगुरौ च सिद्धा:।। संज्ञा भनेको नाम हो । तिथिका पाँच संज्ञा छन् । ती हुन्ः नन्दा, भद्रा, जया, रिक्ता, पूर्णा । ती संज्ञामा पर्ने तिथिलाई निम्नानुसार तालिकामा राख्न सकिन्छ ः तिथिका संज्ञा तिथिहरू नन्दा प्रतिपदा, षष्ठी, एकादशी भद्रा द्वितीया, सप्तमी, द्वादशी जया तृतीया, अष्टमी, त्रयोदशी रिक्ता चतुर्थी, नवमी, चतुर्दशी पूर्णा पञ्चमी, दशमी, पूर्णिमा÷अमावस्य २. बार : सूर्योदय भएदेखि पुनः सूर्योदय हुने सम्मको समयलाई एक बार भनिन्छ । बार सातवटा हुन्छन् । तिनीहरूलाई सूर्यादि सात ग्रहहरूका नामले चिनिन्छन् ।

बारमा २४ होरा हुन्छन् वा एक घण्टामा एक होरा हुन्छ र जम्मा २४ घण्टामा २४ होरा हुन्छन् । ती होराहरू पनि सूर्यादि सात ग्रहहरूकै हुन्छन् । सृष्टिका क्रममा सर्वप्रथम सूर्य देखिएकाले २४ होरामध्ये प्रथम होराका रूपमा सूर्यलाई लिइन्छ । यसरी नै रविपछि शुक्र, बुध, चन्द्रमा, शनि, गुरु, भौम यी ग्रहहरुलाई क्रमैसँग आवृत्ति गर्दै जाँदा २५ औँ होरा जुन ग्रह पर्दछ त्यो ग्रहकै नामबाट त्यस दिनको बारको नाम हुन्छ । जस्तैः सूर्यदेखि माथि उल्लेखित ग्रहहरूलाई क्रमशः गन्दै जाँदा २५ औँ ग्रहका रूपमा चन्द्रमा आउँछ त्यसैलै दोस्रो बार चन्द्र बार (सोम) बार भयो । यही क्रमले उल्लेखित सात ग्रहलाई क्रमशः गन्दै जाँदा २५ औँ ग्रह वा होरा पछिल्लो बारका रूपमा आउँछ ।

यसरी आवृतात्मक रूपमा गन्दै लाँदा ७ औँ होरा शनि हुन्छ । र सात बार र माथि उल्लेखित सातै ग्रहको प्रथम होरा पनि हुन्छ । यसरी २५ औँ ग्रह प्रथम होरा हुँदै जाँदा सात दिनमा रवि, सोम, भौम, बुध, गुरु, शुक्र, शनि गरी सात बार बन्दछन् । यसरी निर्मित बारहरूलाई सूर्यसिद्धान्तले सूर्यादि ग्रहको सावन दिन पनि मानेको छ । सावनको अर्थ पनि एक ग्रहको उदयपछि पुनः अर्को ग्रह उदय हुने समय भन्ने हुन्छ । बारको संज्ञा बृहस्पति, चन्द्र (सोम), बुध तथा शुक्रबार सौम्य संज्ञक र भौम, रवि र शनिबार क्रुर संज्ञक मानिन्छन् । यस्तै सौम्य संज्ञक बारहरूमा शुभ कर्म गर्नु राम्रो हुन्छ ।

यस्तै रविबार स्थिर, सोमबार चर, मङ्गलबार उग्र, बुधबार सम, गुरुबार लघु, शुक्रबार मृदु तथा शनिबार तीक्ष्ण संज्ञक बार हुन् । यी संज्ञाका आधारमा बारको शुभाशुभत्व विचार गर्नुपर्दछ । जस्तैः विद्यारम्भका लागि गुरुबार, वाणिज्यारम्भका लागि बुधबार र शल्यक्रियाका लागि शनिबार उत्तम मानिन्छ । ३. नक्षत्र : आकाशीय ताराहरूको समूहलाई नक्षत्र भनिन्छ । आकाशमा असङ्ख्यीय ताराहरू विभिन्न जनावर आदिका आकारमा बसेका हुन्छन्, तिनै नक्षत्र हुन् । आकाशीय ग्रहहरू पनि कुन ग्रह कहाँ बसेको छ ? भन्ने ज्ञान पनि नक्षत्रकै आधारमा पत्ता लगाइएको हुन्छ । यसरी विभिन्न आकारमा बसेका नक्षत्रलाई मूलतः ज्योतिषशास्त्रले २७ भागमा विभाजन गरी प्रत्येकको नाम नक्षत्र राखेको छ । यसरी निर्मित एक नक्षत्रमा चार भाग हुन्छन् । यो चार भागलाई चरण पनि भनिन्छ । त्यसरी २७ नक्षत्रका प्रत्येक भागलाई क्रमशः ९÷९ वटामा छुट्याउँदै जाँदा १२ पुञ्ज बन्दछ, त्यसलाई नै १२ राशि भनिन्छ ।

आकाशीय मण्डलमा स्थापित २७ नक्षत्रका नामलाई निम्नानुसार लिईन्छः १. अश्विनी, २. भरणी, ३. कृतिका, ४. रोहिणी। ५. मृगशिरा, ६. आद्र्रा, ७. पुनर्वसु, ८. तिष्य, ९. अश्लेषा, १०. मघा, ११. पूर्वफाल्गुणी, १२. उत्तरफाल्गुणी, १३. हस्ता, १४. चित्रा, १५. स्वाती, १६. विशाखा, १७. अनुराधा, १८. ज्येष्ठा, १९. मूल, २०. पूर्वषाढा, २१. उत्तरषाढा, २२. श्रवण, २३. धनिष्ठा, २४. शतभिषा, २५. पूर्वभाद्रपदा, २६. उत्तरभाद्रपदा, २७. रेवती । यस्तै ज्योतिषशास्त्रले अभिजित नक्षत्रलाई पनि लिएर २८ नक्षत्र मानेको पाइन्छ । ज्योतिर्विदहरूले यसलाई उत्तरषाढाको अन्तिम १५ घडी र श्रवण नक्षत्रको सुरुको ४ घडी गरी १९ घडीको नक्षत्र हुन्छ भनी विश्लेषण गरेका छन । यो नक्षत्र समस्त कार्यमा शुभ मानिन्छ । नक्षत्रका स्वामी अश्विनीको अश्विनीकुमार, भरणीको यमराज, कृतिकाको अग्नि, रोहिणीको ब्रह्मा, मृगशिराको चन्द्रमा, आद्र्राको शिव, पुनर्वसुको अदिती, तिष्यको गुरु, अश्लेशाको सर्प, मघाको पितृ, पूर्वफाल्गुणीको मघा, उत्तरफाल्गुणीको पवन, विशाखाको इन्द्राग्नि, अनुराधाको मित्र, जेष्ठाको इन्द्र, मूलको नीरिति, पूर्वषाढाको जल, उत्तरषाढाको विश्वदेव, अभिजितको ब्रह्मा, श्रवणको विष्णु, धनिष्ठाको वसु, शतभिषाको वरुण, पूर्वभाद्रपदाको अजैकचरण, उत्तरभाद्रपदाको अहिर्वुध्न्य र रेवतीको पुषा । नक्षत्रका आधारमा जातकको फलादेश गर्दा स्वामीको गुण, दोष र स्वभावका आधारमा गर्नुपर्दछ ।

नक्षत्रका संज्ञा १ ध्रुव संज्ञकः उत्तरफाल्गुणी, उत्तरषाढा, उत्तरभाद्रपदा तथा रोहिणी । २ चर संज्ञक ः स्वाती, पुनर्वसु, श्रवण, धनिष्ठा, शतभिषा । ३ उग्र संज्ञक ः पूर्वषाढा, पूर्वफाल्गुणी, पूर्वभाद्रपदा, मघा तथा भरणी । ४ मिश्र संज्ञक ः विशाखा तथा कृतिका । ५ लघु संज्ञक ः हस्ता, अश्विनी, तिष्य र अभिजित । ६ मृदु संज्ञक ः मृगशिरा, रेवती, चित्रा र अनुराधा । ७ तीक्ष्ण संज्ञक ः मूल, जेष्ठा, आद्र्रा, र अश्लेषा ८ पञ्चक संज्ञक ः धनिष्ठा, शतभिषा, पूर्वभाद्रपदा, उत्तरभाद्रपदा तथा रेवती । यी नक्षत्रहरूमा पञ्चक दोष हुने भएकाले शुभ कर्ममा त्याज्य हुन्छन् । ९ मूल संज्ञक ः ज्येष्ठा, अश्लेषा, रेवती, मूल, मघा, तथा अश्विनी । यी नक्षत्रहरूमा पनि अशुभ रहेकाले यी नक्षत्रमा जन्मिएको जातकलाई २७ दिनपछि नक्षत्र शान्ति गराउनुपर्दछ । नोटः माथि उद्धृत १,२,३,४,५,६,७, का नक्षत्र तिनीहरूको संज्ञाका आधारमा शुभाशुभफल विचार गर्नुपर्दछ ।

यसरी विचार गरेर कार्यारम्भ गरे ठूलो फल प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ । नक्षत्रको नामाक्षर चुचेचोला=अश्विनी, लिलुलेलो=भरणी, अइउए=कृतिका, ओवाविवु=रोहिणी, वेवोकाकी=मृगशिरा, कुघङछ=आद्र्रा, केकोहाही=पूनर्वसु, हुहेहोडा=तिष्य, डीडुडेडो=अश्लेषा, मामीमुमे=मघा, मोटाटीटु= पूर्वफाल्गुणी, टेटोपपि=उत्तरफाल्गुणी, पुषणठ=हस्ता, पेपोरारी=चित्रा, रुरेरोता= स्वाती, तितुतेतो= विशाखा, नानीनुने=अनुराधा, नोयायीयु=जेष्ठा, येयोभाभी=मूल, भूधफाढ= पूर्वषाढा, भेभोजाजी= उत्तरषाढा, (जुजेजोख= अभिजित), खाखिखुखे= श्रवण, गागीगुगे= धनिष्ठा, गोसासीसू=शतभिषा, सेसोददी=पूर्वभाद्रपदा, दुथझञ = उत्तरभाद्रपदा, देदोचाचि = रेवती । ४. योग : ज्योतिषीय पञ्चाङ्गको अर्को प्रमुख अङ्ग योग हो । योगको सामान्य अर्थ जोड भन्ने हुन्छ । तर ज्योतिषीय भाषाका आधारमा योग भनेको चन्द्रमा र सूर्यका कारणले बन्ने योग हो । सूर्य तथा चन्द्रमा अश्विनी नक्षत्रदेखि क्रमशः अघि बढ्ने क्रममा ८०० कला पार गरेपछि एक योग बन्दछ यस्तै १६०० कला अघि बढिसकेपछि दोस्रो योग बन्दछ, यसरी नै यस्तै प्रकारले सूर्य – चन्द्रमा १२ राशिको २१६०० कला अश्विनी नक्षत्रदेखि अगि बढ्दछन् त्यतिनै खेर २७ योग बन्दछ अर्थात् १२ राशिको २१६०० कलामा नै २७ योग अन्र्तनिहित रहेका हुन्छन् ।

यस्ता योगहरू आनन्दादि र विष्कुम्भादि गरी २ प्रकारका छन् , भन्दछन् ज्योतिर्विदहरू । तर यहाँ पञ्चाङ्गमा रहेका २७ विष्कुम्भादि योगहरूलाई यसरी लिइन्छ । १. विष्कुम्भ, २. प्रीति, ३. आयुष्मान, ४. सौभाग्य, ५. शोभन, ६. अतिगण्ड, ७. सुकर्मा, ८. धृति, ९. शुल, १०. गण्ड, ११. बृद्धि, १२. ध्र्रुव, १३. व्याधात, १४. हर्षण, १५. वज्र, १६. सिद्धि, १७. व्यतिपात, १८. परीयान, १९. परिध, २०. शिव, २१. सिद्ध, २२. साध्य, २३. शुभ, २४. शुक्ल, २५. ब्रह्म, २६. ऐन्द,्र २७, वैधृति । योगका स्वामी विष्कुम्भको यमराज, प्रीतिको विष्णु, आयुष्मानको चन्द्रमा, सौभाग्यको ब्रह्मा, शोभनको गुरु, अतिगण्डको इन्दु, सुकर्माको इन्द्र, धृतिको जल, शूलको सर्प, गण्डको अग्नि, बृद्धिको सर्प, ध्रुवको भूमि, व्याघातको वायु, हर्षणको भग, बज्रको वरुण, सिद्धिको गणेश, व्यतिपातको रुद्र, वरीयनको कुवेर, परिधको विश्वकर्मा, शिवको मित्र, सिद्धको कार्तिकेय, साध्यको सावित्री, शुभको लक्ष्मी, शुक्लको पार्वती, ब्रह्माको अश्विनीकुमार, ऐन्द्रको पितृ तथा वैधृतिको दीप । योगको शुभाशुभत्वका निमित्त योगका स्वामीको ज्ञान अपरिहार्य रहेको छ ।

यस्तेै परिध योगको पूर्वाद्र्ध, विष्कुम्भ योगको अन्त्यको ५ घडी, शूलको सुरुको ७ घडी, गण्ड तथा व्यघातको सुरुको ६ घडि, हर्षण तथा बज्र योगको सुरको ९ घडी तथा वैधृति र व्यतिपात योग (पूर्ण) समस्त शुभकार्यमा त्याज्य हुन्छन् । यी कुरालाई विचारेर शुभाशुभ कार्य गर्नु फलदायक हुनेछ । ५ करण : ज्योतिषीय पञ्चाङ्गमध्येको अर्को एक महत्वपूर्ण अङ्ग हो करण । तिथिको मध्यम वा आधा भागलाई करण भनिन्छ । अर्थात् १ तिथि २ करण हुन्छ । करणहरू ११ प्रकारका हुन्छन् । ती हुन्ः १. बव, २. बालव, ३. कौलव, ४. तैतिल, ५. गर, ६. वणिज, ७. विष्टि, ८. शकुनि, ९. चतुष्पाद, १०. नाग, ११. किष्तुघ्न ।

यी माथिका ११ करणहरूमध्ये सुरुका सात करणलाई चर संज्ञक र पछिल्ला चार करणहरूलाई स्थिर संज्ञक करण भनिन्छ । करणका स्वामी बवको इन्द्र, बालवको ब्रह्मा, कौलवको सूर्य, तैतिलको सूर्य, गरको पृथ्वी, वणिजको लक्ष्मी, विष्टिको यम, शकुनिको कलियुग, चतुष्पदको रुद्र, नागको सर्प, तथा किष्तुघ्नको वायु । तिथ्यद्र्ध अर्थात् करणहरूका भोगका क्रममा स्थिर करणहरू कृष्ण चतुर्दशीको शेषाद्र्ध वा उत्तराद्र्धमा आरम्भ भई शुक्लपक्षको पूर्वार्ध पर्यन्त रहन्छन् त्यसलाई ध्रुव पनि भनिन्छ । यस्तै विष्टि करणको अर्को नाम भद्रा पनि हो, प्रत्येक पञ्चाङ्गमा भद्राको आरम्भ तथा अन्त्यको समय पनि दिइएको हुन्छ र त्यो भद्राक समयमा समस्त शुभ कार्यहरू त्याग गर्नु नै उत्तम हुने ज्योतिषीय मान्यता रहेको छ ।

यसरी उल्लेखित अभिलक्षणका आधारमा ज्योतिषीय पञ्चाङ्गहरूको ज्ञान लिन सकिन्छ । कुनै पनि नित्य नैमित्यक काम्य अन्य यज्ञ यज्ञादि कर्ममा सङकल्प उच्चारणमा सोहि स्थान को देशान्तर अंक्षाक्ष सूर्योदय सम्पूर्ण विचार गरी सोही अनुरुप को पञ्चाङ्ग ज्ञान गरि प्रतिज्ञासङ्कल्प गर्न सके थप प्रभावकारी रहन्छ।

X