loading

षोडशसंस्कारको आवश्यकता र महत्व

  • Home
  • Blog
  • षोडशसंस्कारको आवश्यकता र महत्व

षोडशसंस्कारको आवश्यकता र महत्व

षोडशसंस्कारको आवश्यकता सम् उपसर्गपूर्वक कृञ् धातुमा घञ् प्रत्यय लागेर संस्कार शब्दको निष्पत्ति हुन्छ । जसको अर्थ हुन्छ– संस्करण, परिष्करण, विमलीकरण तथा विशुद्धीकरण आदि । जसरी मलिन वस्तुलाई धोएर पुछेर शुद्ध पवित्र बनाइन्छ त्यसरी नै मानव जीवनलाई पनि विविध संस्कारहरूले शुद्धीकरण गर्दै परमात्मा मिलनतर्फ अग्रसर बनाउँछन् । मानव जीवनलाई उन्नत बनाउन संस्कारहरुको विशिष्ट महत्व हुन्छ । मानवको शारीरिक मानसिक तथा आत्मिक उन्नतिका लागि जन्मदेखि मृत्युपर्यन्त भिन्न भिन्न समयमा विविध संस्कारको व्यवस्था गरिएको छ । संस्कारहरुले नै मानवलाई द्विज बन्ने अधिकार मिल्दछ । आ–आफ्ना वेदका शाखामा बताइए अनुसार संस्कारहरु सम्पादन गर्नुपर्छ – स्वे स्वे गृह्ये यथा प्रोक्तास्तथा संस्कृतयोऽखिलाः ।

यहि कुरालाई महानिर्वाणतन्त्रमा भगवान् सदाशिवले देवी पार्वतीलाई बताउनु हुन्छ – संस्कारविना शरीर शुद्ध हुँदैन, अशुद्ध व्यक्ति देवता र पितृ(हव्य एवं कव्य) कार्यका लागि अधिकारी हुँदैन । अतः लोक एवं परलोकमा कल्याणको इच्छा हुनेले आ–आफ्नो वेदशाखामा बताइएका संस्कारहरू प्रयत्नपूर्वक सम्पादन गर्नुपर्छ – संस्कारेण विना देवि देहशुद्धिर्न जायते । नासंस्कृतोऽधिकारी स्याद्दैवे पैत्र्ये च कर्मणि ।। अतो विप्रादिभिर्वणैः स्वस्ववर्णोक्तसंस्क्रिया । कर्तव्या सर्वथा यत्नैरिहामुत्र हितेप्सुभिः ।। महर्षि मनुले भनेका छन् – द्विजहरूको गर्भधान आदि संस्कार वैदिक पुण्य कर्मद्वारा सम्पन्न हुनु पर्दछ । किनभने संस्कारले यस लोक तथा परलोकमा पवित्र गर्दछ । यस प्रकारले संस्कारको विषयमा मनुको स्पष्ट निर्देश छ कि माता पिताको वीर्य एवं गर्भाशयका दोषहरु गर्भाधानादि संस्कारद्वारा हटाउन सकिन्छ । अत संस्कारले शरीरलाई शुद्धि गर्दछ । मनुले संस्कारद्वारा यज्ञ, व्रत आदिले मानव शरीर अनि आत्मालाई ब्रम्ह प्राप्तिका लागि योग्य बनाइन्छ भनेका छन् । प्रत्येक संस्कारले मानिसलाई नैतिक, आदर्श जीवन बिताउँदै जीवनको उच्चतामा पुग्न प्रेरित गर्छ । तसर्थ संस्कार गराउँदा आफू पनि शुद्ध रहनुपर्छ र पुरोहित पनि शुद्ध आचरणको व्यक्तिलाई लिनुपर्छ । अन्यथा संस्कारले दिनु पर्ने प्रतिफल प्राप्त हुँदैन भन्ने शास्त्रीय विधान छ । भविष्यद्रष्टा, गहन मनोविज्ञानवेत्ता ऋषिहरूलाई मानिस भित्रको यो मानसिक कमजोरी थाहा थियो । यसै मनोवैज्ञानिक अनुसन्धानको क्रममा अनेक प्रकारका संस्कारहरूको आविष्कार भएको छ । जसरी मणिलाई तलासिएपछि चमक आउंछ त्यसरी नै मानिसमा पनि संस्कारले त्यस्तै गुण आउंछन् भन्ने विश्वास संस्कार दर्शनको छ । स्मृति र पुराणहरूमा सामान्यता १६ संस्कार मानिएका छन् । शास्त्रमा बताइएका ती १६ संस्कारहरुलाई केही वाक्यका माध्यमले चिनाउने जमर्को गरिएको छ ।

१. गर्भाधान :-
पुरुषले जुन काम गर्नाले स्त्रीजातिलाई गर्भ रहन्छ, स्त्री गर्भवती वा गर्भिणी हुन्छे त्यसलाई गर्भाधान भनिन्छ । यो कर्म आफ्नी स्वस्थ विवाहिता पत्नीमा शास्त्रोक्त विधिले वैदिक मन्त्रहरू पढेर गरिन्छ । गर्भाधान हाम्रा आवश्यक संस्कारहरू मध्येको एउटा प्रमुख संस्कार हो । यसबाट सर्वप्रथम क्षेत्रकै संस्कार हुने हुनाले यसलाई वस्तुतः क्षेत्रसंस्कार नै मानिएको छ । सुसंस्कृत क्षेत्रमा रहेको गर्भ र त्यसबाट जन्मेको सन्तान दोषरहित हुने हुँदा गौणरुपमा मात्र यसलाई गर्भको संस्कार पनि भन्न सकिन्छ । गर्भाधान गर्ने समयमा सुभावना राख्नुपर्छ भनेर नारदपुराणमा बताइएको छ– यादृशेन हि भावेन योनौ शुक्रं समुत्सृजेत् ।। तादृशेन हि भावेन सन्तानं सम्भवेदिति ।। गर्भाधानका लागि शुद्ध रज र वीर्यको संयोग हुनु आवश्यक हुन्छ । रज र वीर्य दुबै शुद्ध भए गर्भ पनि शुद्ध रहन्छ । त्यसकारण गर्भाधान गर्नुभन्दा पहिले स्त्री पुरुष दुबैको रज र वीर्य शुद्ध छ कि छैन विचार गरी अशुद्ध वा दूषित भए औषधी उपाचारद्वारा शुद्ध गरिनुपर्छ । यसको विधान शास्त्रमा वर्णित छ । यो उत्तम सन्तान प्राप्तिका लागि गरिने पहिलो संस्कार हो । ऋतुदानको समय १६ दिनमा – पहिलेका ४ दिन निन्दित छन, त्यसैगरी ११ र १३ आँै रात्रि पनि निन्दित छन् । पूर्णिमा, चतुर्दशी र अष्टमी यी रात्रिलाई पनि छोडिदिनु भन्ने मनुस्मृतिको वचन छ । बाकी रहेका १० रात्रीमा वीर्य निषेचनद्वारा गर्भस्थापना गर्नु गृहस्थाश्रमको पहिलो कर्तव्य हो । यो संस्कार वास्तवमा दिव्य आत्माहरूलाई जन्म लिनका लागि भूमि तयार गर्नु हो । यसलाई पवित्रतासँग जोडिएको छ । सन्तुलित शाकाहारी भोजन र स्त्री पुरुषको प्रसन्न मनःस्थितिले बालकको भविष्य निर्माणमा महत्त्व राख्छ ।

२. पुंसवन:-
पुमान् सूयते येन कर्मणा तदिदं पुंसवनम् ।। पुंसवन भनेर गर्भको सन्तान पुरुष जन्मोस् , गर्भ सर्वथा निर्दोष होस् र गर्भको बालकलाई ज्ञान खुलोस्, उसलाई आफ्नो पूर्व अवस्थाको पनि स्मरण होस् र साथै क्षेत्र पनि सुसंस्कृत होस् भनेर गरिने संस्कारलाई भनिन्छ । गर्भस्थ शिशुको बौद्धिक एवं मानसिक विकासका लागि गर्भ रहेको दोस्रो या तेस्रो महीनामा गरिने संस्कार हो ।

३. सीमन्तोन्नयन:-
सीमन्तोन्नयन भनेर शास्त्रीय विधिबाट मन्त्र पढेर पतिले आफ्नी गर्भिणी पत्नीलाई सिउँदो झिकेर कपाल कोरीबाटी गरी धागो बाँधिदिने कामलाई भनिन्छ । यो संस्कारबाट स्त्रीजातिको अङ्ग(शरीर)मा अलक्ष्मीनाशिनी मङ्गलमयी लक्ष्मीको समावेश भएर स्त्रीको पहिलो गर्भलाई विकृत गराई दुःख दिन आइलाग्ने एक थरिका दुष्ट भूतग्रह र अलच्छिनी राक्षससिनीहरुबाट हुन आउने भयको समेत निवारण हुन्छ भनेर लेखिएको छ । यस संस्कारले आमालाई प्रसन्नचित्त राख्न, गर्भस्थ शिशु स्थिर उत्कृष्ट अनि सौभाग्य सम्पन्न होस् भनेर गर्भाधानको आठौं महिनामा गरिन्छ ।

४. जातकर्म :-
बालक जन्मेपछि नाल नकाट्दासम्मको समयमा गरिने कर्मलाई जातकर्म भनिन्छ । पारस्करगृह्यसूत्रमा बताइएको छ कि– जातस्य कुमारस्याच्छिन्नायां नाड्यां मेधाजननायुष्ये करोति । अर्थात् उत्पन्न जातकको नालछेदन पूर्व नै मेधाजनन तथा आयुष्यका लागि जातकर्म गर्दछ । नवजात शिशु बुद्धिमान्, बलवान्, स्वस्थ एवं दीर्घजीवी होस् भन्ने कामनाले गरिने संस्कार हो यो ।

५.षष्ठिकापूजा (छँैटी) :-
रक्षणीया तथा षष्ठी निशा तत्र विशेषतः । षष्ठिकापूजा बालक जन्मेको छदिनमा गरिन्छ । यसलाई छैँटी भन्ने प्रचलन छ । यस दिन षष्ठिकापूजा तथा अष्टचिरञ्जीवीको पूजा गर्नाले बालकको विशेष कल्याण हुन्छ भन्ने शास्त्रको कथन छ । छैँटीका दिन भावीले सुटुक्क आएर बालकको निधारमा उसको भाग्य लेखिदिएर जाने गर्दछन् भन्ने कथन पनि छ । विशेष कुरा जन्मदिनको राति र छैठौँ दिन जातककालागि अरिष्टकारक हुन्छन् । अतः प्रथमदिन जातकर्म र छैटौँ दिन षष्ठिकापूजा गर्नुपर्छ ।

६. नामकरण:- नाम सम्पूर्ण व्यवहार एवं मंगलमय कार्यको हेतु हो । नामले नै मनुष्यको कीर्ति प्राप्त गर्दछ । नामाखिलस्य व्यवहारहेतुः शुभावहं कर्मसु भाग्यहेतुः । नाम्नैव लभते मनुष्यस्ततः प्रशस्तं खलु नामकर्म ।। नामकरण जन्मेको बालकको नाम राख्ने संस्कार हो । यो संस्कार जातक जन्मेको ११ औँ दिनमा गरिन्छ । यसमा नाम राख्दा शास्त्रमा धेरै प्रकार बताइएको छ ता पनि हाम्रो समाजमा बालको जन्मनक्षत्रअनुसार अवकहडाचक्र जुराएर जुन अक्षर पर्दछ त्यसैबाट उठेको नाम राख्ने गरिन्छ । शिशुलाई सुन्दर र सार्थक नाम राख्न गरिने संस्कार हो । बालकको नाम जोडा अक्षर र बालीकाको नाम बिजोड अक्षरमा राख्नु भन्ने मनुस्मृतिको वचन छ । ७. निष्क्रमण :-
निष्क्रमण भनेर बालकलाई घरबाट बाहिर निकाल्ने संस्कारलाई भनिन्छ । यो संस्कार जन्मेको चार महिनामा गर्नू भन्ने शास्त्रीय वचन छ – चतुर्थे मासि निष्क्रमणिका । सूर्यमुदीक्षयति तच्चक्षुरिति । अहिले नामकरणको काम सकिएपछि सोही दिन बालकलाई आँगनमा निकालेर सूर्यको दर्शन गराउने कार्य गरी निष्क्रमणको विधि पूरा गर्दछन् । यसले गर्दा शिशुमा संसारको वातावरणसँग भिज्ने क्षमताको विकास हुन्छ ।

८. अन्नप्राशन:-
अन्नप्राशन भनेर जन्मेको बालकलार्ई सर्वप्रथम अन्न(भात) खुवाइने संस्कारलाई भनिन्छ । आमाको दुधसँगै सुपाच्य पौष्टिक अन्न पनि शिशुलाई छैठौ महिनामा दिन शुरु गर्नु पर्दछ – मासे षष्ठेऽन्नप्राशनम् । यो संस्कार सामान्यतः छोराको जोर अर्थात् जन्मेको छैठाँैँ वा आठौँ महिनामा र छोरीको बिजोर अर्थात् पाँचौँ वा सातौँ महिनामा शास्त्रोक्त विधिबाट गरिन्छ ।

९.चूडाकर्म:-
चूडाकर्म भनेर छोराको पहिलो पटक कपाल खौरिने कर्मलाई भनिन्छ । चूडाकर्म पनि हाम्रा प्रमुख संस्कार मध्येको एक हो । शास्त्रमा यसलाई चूडाकरण पनि भनिन्छ । लोकमा छेवर गर्ने वा क्षौर गर्ने अर्थात् पहिलो पटक छुरा लाएर कपाल काट्ने काम भन्दछन् । यो कर्म शिशुको बौद्धिक, मानसिक एवं शारीरिक विकासको कामनाले विधिपूर्वक गरिन्छ । यस विषयमा मनुस्मृतिको वचन यस्तो छ – चूडाकर्म द्विजातीनां सर्वेषामेव धर्मतः । प्रथमेऽब्दे तृतीये वा कर्तव्यं श्रुतिचोदनात् ।। चूडाकरण बालक एक वर्षको भएपछि वा उसको तीनवर्षको उमेरमा गरिदिनु, नभए उपनयन हुनुभन्दा अघि, आफ्नो कुलमा चलेको परम्परा अनुसार, पाँच सात आदि बिजोर वर्षको उमेरमा गरिदिनु भन्ने छ । आजभोलि यो कर्म प्रायः उपनयन गर्दा गर्ने चलन छ ।

१० अक्षरारम्भ :-
अक्षरारम्भसंस्कार क्षर (जीव)लाई अक्षर(परमात्मा)सँग सम्बन्ध गराउने संस्कार हो । तसर्थ यो संस्कारको मानव जीवनमा ठूलो महत्त्व छ । यहि महत्त्वलाई भगवान् श्रीकृष्णले श्रीमद्भगवद्गीतामा भन्नु भएको छ – अक्षराणामकारोऽस्मि( अक्षरहरूमा अकार मै हुँ ), ओमित्येकाक्षरं ब्रह्म, अक्षरं ब्रह्म परमं आदि । जीवनको महत्त्वपूर्ण संस्कार भएको हुनाले शास्त्रीय विधिअनुरुप यसलाई सम्पन्न गर्नुपर्छ ।

11 कर्णवेध :-
कर्णवेध भनेर बालकको पहिलोपल्ट कान छेड्ने संस्कारलाई भन्दछन् । कर्णवेध बालक जन्मेको विजोर वर्षमा सूर्य बृहस्पति राम्रा, तारा चन्द्रहरु अनुकूल भएको समयमा शुभ समयमा गर्नुपर्छ । यो शिशुलाई शारीरिक व्याधिहरुबाट रक्षाको कामनाले गरिने संस्कार हो । जुन जन्मबाट तेस्रो वा पाँचौ वर्षमा गर्नु राम्रो हो भनेर आश्वालायन गृहसूत्रको वचन छ । त्यस्तै कुुमारतन्त्रमा कर्णवेधसंस्कारले बालारिष्ट उत्पन्न गराउने बालग्रहबाट बालकको रक्षा हुन्छ भनेर बताइएको छ– कर्णव्यधे कृतो बालो न ग्रहैरभिभूयते । भूष्यतेऽस्य मुखं तस्मात् कार्यस्तत् कर्णयोव्र्यधः ।।

१२. उपनयन (व्रतबन्ध) :-
सदोपवीतिना भाव्यं सदा बद्धशिखेन च । विशिखो व्युपवीतश्च यत् करोति न तत्कृतम् ।। व्रतबन्ध भनेको विधि प्राचीन कालमा द्विजातिहरुका बालकलाई समयमै पूर्ण विद्यार्थीको रुप दिएर तिनीहरुलाई सफल स्नातक बनाउने व्यवस्थिन प्रक्रिया हो । व्रत भनेको नियमविशेष हो र बन्ध भनेको त्यसमा बाँधिनु हो । यहाँ व्रत भनेर बालकहरुले मुख्य पालना गर्नुपर्ने ब्रह्मचर्य व्रतलाई लिइन्छ । विद्याध्यनद्वारा आवश्यक ज्ञानसम्पादनका लागि वा अभीष्ट पुरुषार्थको सिद्धिका लागि विद्यार्थी अवस्थामा पालन गरिने वा गर्नुपर्ने नियमविशेष हो । अतएव व्रतबन्ध भन्नाले बालकले अध्ययनार्थ वा ज्ञानसम्पादनार्थ गुरुकुलमा रहेर सर्वप्रथम ब्रह्मचर्यको नियम पालन गरी त्यसमा बाँधिएर रहनु पर्ने बुझिन्छ । चूडाकर्म सकी सफा शुद्ध गराइएको बालकलाई उसको द्विजत्वसिद्धिका लागि गुरुको हातमा सुम्पिदिएर प्रथम आश्रमको रुपमा वेदाध्ययन र तदर्थ ब्रह्मचर्य आदि व्रतको पालना गराउनका साथै कुनै निश्चित अवधिसम्म उसलाई आफ्ना विशेष नियममा बाँधिएर रहनाका निमित्त गरिने वा गराइने विधिविधानलाई लिइन्छ । यसलाई आधुनिक दृष्टिले हेर्ने हो भने उपनयनबाट गुरुकुलमा वा शिक्षणसंस्थामा प्रवेश, वेदारम्भ वा खास व्रतबन्धबाट अध्ययनकाल वा गुरुकुलको विद्यार्थी अवस्था र समावर्तनबाट स्नातक अवस्था वा दीक्षान्तसमारोहको संकेत मिल्दछ ।

१३. वेदारम्भ :-
उपनीय गुरुः शिष्यं महाव्याहृतिपूर्वकम् । वेदमध्यापयेदेनं शौचाचाराँश्च शिक्षयेत् ।। वेदारम्भ भनेर विधिवत् उपनयन गरेर तिनलाई द्विजत्व प्राप्त गराएपछि तिनीहरुको शास्त्रविहित नित्यनैमित्तिक आदि सकल श्रौतस्मार्त कर्महरुको अनुष्ठान सम्पादनार्थ वेदको पढाइ आरम्भ गरिने कर्मलाई भनिन्छ । यो एउटा प्रमुख र अत्यन्त आवश्यक कर्म हो । शास्त्रीय नियमअनुसार समयमै यथाविधि उपनयन संस्कार सम्पन्न भएर गुरुमुखबाट गायत्री प्राप्त गरेकालाई मात्र वेदाध्ययनको अधिकार भएको हुनाले उपनयनपछि मात्र यो वेदारम्भ गरिन्छ र वेदाध्ययन गराइन्छ । पहिले बालकलाई उपनयन गरेकै दिन वा भोलिपल्ट गुरुकुलमा प्रवेश दिइन्थ्यो । गुरुको नजिक बसेर श्रेष्ठ शिक्षा दीक्षा ग्रहण गर्दै गायत्री मन्त्रदेखि पुरै वेदको अध्ययन गर्नका लागी नियम धारण गर्न लगाइन्थ्यो । वैदिक समयमा धनी गरीब सबैलाई समान निःशुल्क शिक्षाको अवसर प्रदान गरिन्थ्यो ।

१४. समावर्तन :-
वेदं व्रतानि वा पारं नीत्वा ह्युभयमेव वा ।। अविप्लुतब्रहचर्यो लक्षण्यां स्त्रियमुद्वहेत् ।। समावर्तन भनेर उपनयनपछि कुमारले आफ्नो अध्ययन पूरा गरेपछि स्नातक बनेर गुरुकुलबाट घर फर्कन गरिने संस्कारलाई भनिन्छ । उपनयनपछि गुरुकुलमा रहँदा आफ्नो कर्तव्यको रुपमा मुख्य दुई कुराको अभिभारा वहन गरेको हुन्छ । एक अध्ययन अर्को व्रत (ब्रह्मचर्यव्रत) । यिनमा विद्याध्ययन समाप्त गरेर समावर्तन गर्नेलाई विद्यास्नातक, ब्रह्मचर्यव्रत मात्र समाप्त गरी समावर्तन गर्नेलाई व्रतस्नातक र विद्या तथा व्रत दुवै समाप्त गरी समावर्तन गर्ने कुमारलाई पूर्णस्नातक भनिन्छ । शिक्षा प्राप्त गरिसकेपछि विद्यालयले विदाई दिनु जसलाई आज ‘दीक्षान्त समारोह’ भनिन्छ । पहिले विवाह गरेर गृहस्थाश्रम धारण गर्ने उद्देश्यले विद्यालय छोडेर घर आउनुलाई समावर्तन भनिन्थ्यो ।

१५. विवाह :-
यथा मातरमाश्रित्य सर्वे जीवन्ति जन्तवः । तथा गृहाश्रमं प्राप्य सर्वे जीवन्ति चाश्रमाः ।। विवाह वर र वधु बिचको एक पवित्र आध्यात्मिक सम्बन्ध हो । यो देव, द्विज, अग्निको साक्षीमा सम्पादन गरिन्छ । स्थूल रुपमा लौकिक उत्सव देखिने यो संस्कार जीवनमा सबै प्रकारका मर्यादाको स्थापना गर्ने संस्कार हो । गृहस्थाश्रममा प्रवेश गर्न गुण कर्म स्वभाव मिल्ने स्त्री र पुरुषको सम्बन्ध गराउनु यसको उद्देश्य हो । यसमा पुरुष २५ वर्ष पुगेको आफ्नो गोत्रभन्दा बाहिर र माताको तर्फको ६ पीढी बाहिरकी आफूभन्दा कान्छी युवती हुनुपर्ने विधान छ । यो संस्कारको उद्देश्य गृहस्थ धर्म र कार्यहरु पालन गर्दै सन्तानोत्पत्ति गर्नु अनि उचित शिक्षा दिक्षा दिएर सुयोग्य नागरिक तयार पार्नु हो । पुरुषार्थ चतुष्टय सिद्धिमा गार्हस्थ्यधर्मको विशेष महिमा छ । वैदिक सनातन संस्कृतिमा विवाह एक धार्मिक संस्कार हो । विवाहबाट कन्याले भार्या संज्ञा प्राप्त गर्दछिन् भने पुरुषले पति संज्ञा प्राप्त गर्दछ । अतः यो दुबैको संस्कार हो । विवाह संस्कारबाट श्रौतस्मार्तानुष्ठान कर्मका लागि अधिकारसिद्धि तथा धर्माचरणको योग्यता प्राप्त हुन्छ ।

१६. अन्त्येष्टि :-
जीवको सद्गतिका उद्देश्यले मरणासन्न अवस्थामा गरिने दानादि कृत्य तथा मृत्युपछि गरिने दाहादि कर्म र षट्पिण्डदान आदिलाई अन्त्येष्टि संस्कार भनिन्छ । सामान्य रुपमा मृत्युपछि गरिने संस्कारलाई अन्त्येष्टिसंस्कार भनिन्छ । अत्येष्टिसंस्कार मुख्यतः दुई रुपमा सम्पन्न हुन्छ । पहिलो मरणासन्न अवस्था र अर्को मृत्युपछि अस्थिसञ्चयसम्म गरिने कर्म । जन्मको समाप्ति मरणमा हुन्छ त्यसैले यो संस्कार यथाविधि अवश्यकरणीय हो । यसरी शास्त्रमा मानवका लागि १६ संस्कारहरु बताइएको छ । जसको परिपालना गरेमा मानवमा उत्कृष्टता, दिव्यता, शुद्धताको प्राप्ति हुन्छ । जसले गर्दा जातकको जीवन जगत्मा सफल र सार्थक बन्दछ । वर्तमान सभ्यताको विकाससँगै हामीकहाँ केही नयाँ संस्कार पनि थपिएका छन् । मानिसले जन्म दिवस र विवाह दिवसको संस्कार मनाउन थालेका छन् । यद्यपि त्यसमा केही कुरा हामीकहाँ प्रचलित परम्परा अनुसार छैन । संस्कारसँग मानिसको पहिचान गाँसिएको हुन्छ तसर्थ संस्कार पालन गर्दा चिनारी नगुमोस् भन्नेमा विवेक पुर्याउनुपर्छ । संस्कार र संस्कृतिले नै मानिसलाई जीवन्त बनाउने गर्दछन् ।

✍️ वासुदेव गौतम
X