loading

श्राद्ध

  • Home
  • Blog
  • श्राद्ध

श्राद्ध

समान्य परिचय

श्रद्धा अस्ति अस्य यस्तो विग्रह गरी णः प्रत्यय गरेपछि श्राद्ध शब्द निष्पन्न हुन्छ । श्राद्धको शब्दगत अर्थ श्रद्धया दीयते, क्रियते वा तद् श्राद्धम् अर्थात् हृदयभरी श्रद्धा बोकेर आफ्ना पितृप्रति हरेक कुरा समर्पण गर्नु वा पितृलाई स्मरण गर्दै कोही योग्य व्यक्तिलाई केही दिनु नै श्राद्ध हो। यो कार्य गर्नेबेलामा हृदयमा सम्मान, आस्था र विश्वास एकैपटक उजागर हुनु पर्दछ ।

कुनै पनि आफ्नो इष्टमा श्रद्धा प्रकट गर्नु नै श्राद्ध हो । आर्ष संस्कार परम्परामा जसका कारण हामी अस्तित्वमा छौँ, जसबाट हामी यो स्वरूपमा देखिएका छौँ, उनै पूर्वजहरूलाई शास्त्रीय विधानमा रहेर प्रकट गरिने श्रद्धा नै श्राद्ध हो । श्राद्धशब्दले अन्य कयौँ श्रद्धालाई प्रकट गरे तापनि पौराणिक कालदेखि नै श्राद्ध शब्द पितृलाई श्रद्धा पूर्वक सम्झने विषयमा केन्द्रित रहेको देखिन्छ । पूर्वीय धर्मशास्त्रहरूमा पनि त्यस्तै तरिकाले प्रस्तुत गरिएको छः

प्रेतान् पितृंश्च निर्दिश्य भोज्यं यत्प्रियमात्मानः।
श्रद्धया दीयते यत्र, तच्छ्राद्धं परिचक्षते।। (निर्णयसिन्धु)

अर्थात्, प्राण त्यागि सकेका आफ्ना अग्रज भनौँ या समस्त पितृले पाऊन् भन्ने लक्ष्यका साथ भित्री हृदयदेखि श्रद्धा पूर्वक दान वा अर्पण गर्ने कार्यलाई श्राद्ध भनिन्छ। यसरी उच्चतम आस्थाका माध्यमबाट मूलप्रतिको प्रेम, परम्पराको सम्मान र पूर्वजप्रति गरिने आस्था प्रकट नै श्राद्ध हो ।

श्राद्धको महत्त्व
श्राद्ध किन गर्ने ? यसको महत्त्व के भन्ने विषयमा बारम्बार प्रश्न उब्जनु सामान्य कुरा नै हो । श्राद्धको माध्यमबाट आफ्ना पूवर्जहरूले प्रत्यक्ष ग्रहण गर्छन् र आफ्ना सन्तानले दिएको कुराबाट प्रसन्न भएका पितृले समग्र कुलपरम्परामा उन्नति होस् भनेर आशीर्वाद प्रदान गर्छन् भन्ने पनि शास्त्रीय मान्यता छ । यसलाई सामान्य लोकव्यवहारमा भने स्वीकार गरिहाल्ने अवस्था न आउन पनि सक्छ । किनकि हाम्रा मरिसकेका आफ्ना पूवर्जहरूले कसरी हामीले दिएको अन्नलाई स्वीकार गर्न सक्छन् ? उनीहरू त हामीसँग छैनन् ।
कहिल्यै यो रूपमा छु भनेर जानकारी पनि दिएका छैनन् । हाम्रा अगाडि पनि छैनन् । हामीबाट कहाँ पुगिसके त्यही पनि कुन योनीमा जन्म भएको छ । के थाहा कसरी खान्छन् ? भन्ने प्रश्न उब्जिन सक्छ । यो प्रश्न उब्जनु स्वभाविक नै हो । हाम्रा यस्ता प्रश्नलाई शास्त्रहरूले स्पष्ट सम्बोधन गरेका छन् । वायु पुराणमा नाम-गोत्रको प्रष्ट उच्चारण गरेर दिइने अन्न विश्वेदेव र अग्निष्वात्त आदि हाम्रा पूर्वजहरूले पितृहरूलाई हव्यकव्यका रूपमा उपलब्ध गराउँछन् । हव्यकव्यका रूपमा उपलब्ध गराउने भनेको कर्मानुसार प्राप्त गरेको योनिमा भोजन फरकफरक रूपा उपलब्ध गर्नु हो। जस्तै यदि हाम्रा पितृ स्वर्गमा गएका छन् भने । स्वर्गमा अमृतका रूपमा हामीले दिएको अन्न पुग्छ र उनीहरूले भोजन गर्छन् ।
किनकि स्वर्गमा बसोबास गर्ने देवताहरू नित्य अमृतपान गर्छन् । त्यसैले उनीहरू हामीले दिएको भोजन अमृतका रूपमा ग्रहण गर्छन् । यदि हाम्रा पितृ मानिसका रूपामा जन्म लिएका छन् भने । खानाको रूपमा, जनावरहरू बनेर जन्मेका छन् भने घाँसको रूपमा हामीले दिएको वस्तु प्राप्त गर्छन् । नाग या सर्प योनिमा जन्मेका छन् भने वायुको रूपमा प्राप्त भएको वस्तु भोजन गर्छन् । यक्ष योनिमा पानको रूपमा र अन्य योनिहरूमा जन्मिएका भए पनि योनि अनुसारको उत्तम, सुखदायक र सन्तोषजनक खाद्य पदार्थको रूपमा ग्रहण गरेर सन्तुष्ट हुन्छन् भन्ने कुरा बताइएको छ ।

नाममन्त्रास्तथा देशाभवान्तरगतानपि ।
प्राणिनः प्रीणयन्त्येते तदाहारत्वमागतान् ॥
देवो यदि पिता जातः शुभकर्मानुयोगतः ।
तस्यान्नमभृतं भूत्वा देवत्वेऽप्यनुगच्छति ॥
मर्त्यत्वे ह्यन्नरूपेण पशुत्वे च तृणं भवेत् ।
श्राद्धान्नं वायुरूपेण नागत्वेऽप्युपतिष्ठति ॥
पानं भवति यक्षत्वे नानाभोगकरं तथा ।

(मार्कण्डेयपुराण, वायुपुराण, श्राद्धकल्पलता)

यसरी शास्त्रमा बताएको कुरामै पनि कसरी त्यो कहाँ कहाँ भएकालाई एकै चोटिमा भोजन उपलब्ध हुन्छ भन्ने प्रश्न उत्पन्न हुन सक्छ । अझ त्यत्रो पितृहरूको भीडमा कसको हो भन्ने चाहिँ कसरी थाहा पाउन सकिन्छ भन्ने जिज्ञाशा पनि उत्पन्न हुन सक्छ तर शास्त्रले यस विषयमा पनि प्रष्ट बताएको छ ।

यथा गोष्ठे प्रणष्टां वै वत्सो विन्देत मातरम् ।
तथा तं नयते मन्त्रो जन्तुर्यत्रावतिष्ठते ।
नाम गोत्रं च मन्त्रश्च दत्तमन्नं नयन्ति तम् ।
अपि योनिशतं प्राप्तांस्तृप्तिस्ताननुगच्छति ।
(वायुपु० उपोद्घात पा० ८३ । ११९-२० )

जसरी गोठमा हराएकी गाईलाई उसको बाच्छोले कुनै न कुनै रूपमा पत्ता लगाए रै छाड्छ । बाच्छो अज्ञानी भए पनि आफ्नै आमाको साथमा पुग्छ । त्यसैगरी गोत्रनामको उच्चारणका साथ वैदिक मन्त्र उच्चारण गरेर दिइएको अन्न वा वस्तु जुनसुकै देहमा पुगे पनि हाम्रा पूर्वजले सजिलै प्राप्त गर्न सक्छन् । नाम गोत्रको उच्चारण, आफ्ना पूर्वज प्रतिको उच्चतम श्रद्धका माध्यमबाट उपलब्ध गराएको वस्तुलाई कर्मनिष्ठ ब्राह्मणले वैदिक मन्त्र र शास्त्रीय विधान पूर्वक कार्य सम्पादन गरेपछि जसरी पनि आफ्ना पितृहरू समक्ष त्यो वस्तु पुग्छ नै र त्यसलाई ग्रहण गरेर पितृहरू तृप्त हुन्छन् ।

यो संसारमा कयौँ योनिमध्ये जेमा भए पनि भोजन त गर्नै पर्छ । जीवको जीवन नै उसको भोजनमा रहेको छ । त्यसैले जहाँ भए पनि जुन रूपमा भए पनि आफ्ना पूर्वजको भोकाएको शरीरलाई भोजन गराउने उद्देश्य नै श्राद्ध गर्नु हो । श्राद्धबाट प्रत्यक्ष नै उनीहरूले भोजन गर्ने कुरा शास्त्रले प्रष्ट रूपमा भनेको छ ।

जीवनको यो सुन्दर श्रृष्टिका निर्माता । अनेकौँ उपलब्धिका श्रष्टा आफ्ना पूर्वजले हाम्रा लागि उहाँहरूको जीवन पूरै समर्पण गर्नुभएको उहाँहरूलाई जीवनभर हामीले धन्यवाद श्राद्धा अर्पण गर्दा पनि कमि हुन्छ । त्यस्ता हाम्रा पहिचन र उत्पत्तिका मूल स्रोत पूर्वज प्रतिको विशिष्ट श्रद्धा प्रकट गर्ने कर्म भएको हुनाले यसको महत्त्व अन्यको तुलनामा धेरै छ ।

श्राद्धहरू र महालय श्राद्ध
मनुले नित्य, नैमित्तिक, काम्य, वृद्धि र पार्वण गरी पाँच प्रकारका श्राद्धहरूको चर्चा गरेका छन् ।
नित्यं नैमित्तिकं काम्यं वृद्धिश्राद्धं तथैव च ।
पार्वणञ्चेति मनुना श्राद्धं पञ्चविधं स्मृतम्।।

मृतकको मृत्यु तिथि पारेर वर्षवर्ष दिनमा गरिने श्राद्धलाई एकोदिष्ट श्राद्ध भनिन्छ । यस श्राद्धमा जसको श्राद्ध हो उसलाई मात्र उद्देश्य गरिन्छ अर्थात् एकोदिष्ट श्राद्धमा मुख्य तर्पण, पिण्डदान सम्बन्धित पितृलाई मात्र गरिन्छ । यसरी श्राद्ध गर्दा उद्दिष्ट पितृले प्राप्त गर्ने शास्त्रमा उल्लेख छ ।

आश्विन कृष्णपक्ष वा पितृपक्ष वा सोह्रश्राद्धमा गरिने श्राद्धलाई पार्वण वा महालय श्राद्ध भनिन्छ । पार्वण श्राद्धमा आफ्ना दिवंगत समस्त पितृलाई पिण्डदान गर्नु आवश्यक मानिन्छ। कतिपय अवस्थामा आफूले तर्पण दिएजति सबै पितृलाई पिण्ड दिने चलन पनि छ। त्यसैले पार्वण श्राद्धको विशेष महत्त्व देखिन्छ । अन्य जेजस्तो भए तापनि सोह्रश्राद्ध अर्थात् यो पितृपक्षमा सबै पूर्वज(पितृहरू) आफ्ना सन्तानबाट केही पाउने आसले यस संसरामा आउने भएकाले महालय अर्थात् यो समय पितृका लागि अन्तन्तै महत्त्वपूर्ण उत्सब रहेको हुन्छ । यो पितृहरूको विशिष्ट उत्सवमा हामीले आफ्ना समस्त पितृलाई पिण्डपानी दिने, पितृका नामामा समाजमा सकारात्मक असर पुर्याउने काम गर्नुपर्ने कुरा प्रष्टरूपा धर्मशास्त्रमा उल्लेख गरेको पाइन्छ ।

यो काम पिताको तिथिका दिनमा गर्नलाई शास्त्रले जोड दिँदै उत्तम मानेको छ । पितृका प्रमुख पिता हुन् । किनकि हाम्रो जीवनको प्रत्यक्ष निर्माण कर्ता पिता नै हुन् । त्यसैले माहालय श्राद्धमा पनि पिता कै तिथिका दिन सबैको श्राद्ध गर्नुपर्छ । श्राद्ध कर्ताले आफ्नो पिताको तिथिका दिन सम्पूर्ण पिता पुर्खालाई सम्भव भएसम्म पिण्ड दिनुपर्छ । पूर्वीय शास्त्र परम्पामा श्राद्धकर्ताका पिताले पितृलोकमा समस्त पितृसँग आज मेरो तिथि हो, यसै दिन मेरो सन्तानले हामीलाई बोलाउँछ, हामी यस दिन जानुपर्छ भनी आएर ढोकामा बसी वार्तालाप गरिरहेका हुन्छन् भन्ने मानिन्छ। यसर्थ, पिताको मृत तिथिमा नै महालय श्राद्ध गर्नुपर्छ ।

श्राद्धमा रक्तसम्बन्ध रहेका आमातर्फ सपत्नीसहित तीन पुस्ता, मामा–माइजू, सानिमा–सानाबा, ठूलीआमा–ठूलाबा, बुवातर्फ सपत्नीसहित तीन पुस्ताले तर्पण दिने, त्यसैगरी बडाबा–बडी आमा, काका–काकी, फुपू–फुपाजु, दिदी–भिनाजु, भाइ–बहिनी, गायत्री गुरु, दीक्षा गुरु, राजा र भीष्मपितामहसम्मलाई तर्पण दिने शास्त्रीय मान्यता छ। यसकै आधारमा पिण्डदान दिने पनि प्रचलन छ । यसरी रक्तसम्बन्ध, अंशसम्बन्ध, ज्ञानसम्बन्ध लगायत आफन्तको ऋण चुक्ता गरी मुक्तिको उद्देश्य तथा वंश निरन्तरताको आशीर्वाद प्राप्त गर्न बाँचुन्जेल पालनपोषण र देहावसानपछि पितृको सम्मानमा उनीहरूको स्मरण गर्दै श्रद्धा प्रकट गर्नका लागि शास्त्रले प्रामाणिक विधानहरू निर्माण गरेको छ त्यस मध्ये श्राद्ध पनि एक हो ।

महालय श्राद्ध कहिले पर्छ ?
पूर्वीय पञ्चाङ्ग तथा सनातन संस्कार परम्पराको चान्द्रपञ्चाङ्ग अनुसारको आश्विन महिनाको सुरुवाती १५ दिनलाई पितृपक्ष भनिन्छ। तिथीका आधारमा एउटा पक्षमा १५ तिथि हुन्छन् । सामान्य अवस्थामा एक तिथिको एकदिन हुन्छ तर चन्द्रमाको आधारमा तिथि र सूर्यको आधारमा दिनको निर्धारण हुने हुँदा । तिथि र दिनमा फरक पर्न सक्छ तर सामान्य रूपमा एक तिथिको एक दिन हुन्छ भन्दा फरक पर्दैन। यसरी आश्विन महिनाका सुरुवाति १५ तिथिलाई सोह्रश्राद्ध भनिन्छ। अर्थात् आश्विन कृष्ण प्रतिपदादेखि औँसीसम्मको समयलाई सोह्रश्राद्ध भनिन्छ ।

कहाँ गर्ने श्राद्ध ?
सम्भव भएसम्म श्राद्ध आफ्नै घरमा गर्नपर्छ । तर आर्थिक तथा व्यवहारिक कठिनाइका कारण घरमा नै सम्भव नहुन पनि सक्छ यदि घरमा सम्भव नभए विभिन्न तीर्थस्थलमा श्राद्ध गर्न सकिन्छ । यसका लागि पौराणिक कालदेखि पवित्र रूपमा वर्णन गरिएको काठमाडौँको पशुपति, उत्तरगया, गोकर्ण, नुवाकोटको वेत्रावती, देवघाट, ऋडी क्षेत्र लगायतका विभिन्न मन्दिर परिसर तथा नदीतटमा श्राद्ध गर्दा अन्यथा नहुने कुरा धार्मिक ग्रन्थमा भेटिन्छ ।
X