नामकरण संस्कार l
नाम सम्पूर्ण व्यवहार एवं मंगलमय कार्यको हेतु हो । नामले नै मनुष्यको कीर्ति प्राप्त गर्दछ । नामाखिलस्य व्यवहारहेतुः शुभावहं कर्मसु भाग्यहेतुः । नाम्नैव लभते मनुष्यस्ततः प्रशस्तं खलु नामकर्म ।। नामकरण जन्मेको बालकको नाम राख्ने संस्कार हो । यो संस्कार जातक जन्मेको ११ औँ दिनमा गरिन्छ
। अहन्येकादशे नाम चतुर्थे मासि निष्क्रम: l
षष्ठेऽन्नप्राशनं मासि चूडा कार्या यथाकुलम् l
अर्थात् शिशु जन्मिएको एघारौं दिनमा नामकरण संस्कार गर्नुपर्दछ l यस्तै अन्य स्मृतिहरु जस्तै व्यासस्मृति, शंखस्मृति, विष्णुस्मृति, नारदसंहिता, पारस्करगृहयसूत्रम्, विष्णुपुराण, मुहूर्तचिन्तामणि आदि प्राचीन ग्रंथहरुमा धेरै-थोरै मतभेद रहेपनि प्राय: नामकरण संस्कार एघारौं दिनमा नै गर्ने परंपरा रहेको पाइन्छ l
यसमा नाम राख्दा शास्त्रमा धेरै प्रकार बताइएको छ ता पनि हाम्रो समाजमा बालको जन्मनक्षत्रअनुसार अवकहडाचक्र जुराएर जुन अक्षर पर्दछ त्यसैबाट उठेको नाम राख्ने गरिन्छ । शिशुलाई सुन्दर र सार्थक नाम राख्न गरिने संस्कार हो । बालकको नाम जोडा अक्षर र बालीकाको नाम बिजोड अक्षरमा राख्नु भन्ने मनुस्मृतिको वचन छ ।